कुटपिट गरेकाे १२ दिनपछि मृत्यु, कर्तव्य ज्यान मुद्दामा दुईजना पक्राउ
धादिङको त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीको हत्या गरेको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
२२ गते मृत्यु भएका श्रीमान रिम्के सार्कीको ज्यान सम्बन्धि मुद्दामा श्रीमती कबिताले साउन २४ गते किटानी जाहेरी दिनुभएको थियो ।
खहरे बजारमा जुत्ता सिउने पसल रहेको रिम्के सार्की ०८१ साउन १० गते साँझ मोटरसाईकलको साँचो निहुमा भएको विवादमा धरेल र श्रेष्ठले छाती र गुप्ताङ्गमा निलडाम हुनेगरि कुटपिट गरि घाईते पारेको अवस्थामा घर पुगेको मृतककि श्रीमती कविता भुजेल सार्कीले बताउनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र खहरेमा पसल गरि बस्ने नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ५ पौवाका ३२ वर्षीय भुवन श्रेष्ठले कुटपिट गरि हत्या गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
रिम्के सार्कीको साउन २२ गते मृत्यु भएको र आरोपितहरुलाई प्रहरीले साउन २७ गते पक्राउ गरि ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको सुचना अधिकारी समेत रहनु भएका मिश्रले बताउनुभयो । आरोपित धरेलले आफुहरुको कारण विरामी परेको भन्दै रिम्केलाई अस्पताल लानका लागि १२ हजार ५ सय रुपैयाँ समेत नगद दिएर पठाएको थियो । खहरेबजारमा २०८० चैतमा एउटा कुकुरले टोकेको रिम्केलाई सोहि समयमा धादिङ अस्पताल र टेकु अस्पतालमा एण्टीरेबिज सुई दिएको र नियमित काम गर्दै आएको मृतककी श्रीमती कबिता भुजेल सार्कीले बताउनुभयो ।
मृतकका श्रीमतीले न्यायका लागि जिल्ला प्रहरी कार्यालय धादिङ र मानवअधिकारकर्मीहरुसंग आग्रहगर्दै न्याय नपाएसम्म शिक्षण अस्पतालबाट शब नउठाउने बताउनुभएको छ । अनेकन बहाना गरेर कुटपिटबाट मृत्यु भएका मानिसको उपचार समेत प्रभावित पारिएकोले न्याय मर्न दिन नहुने दलित अधिकारको क्षेत्रमा कार्यरत श्याम मगरातीले बताउनुभयो ।
Post Comment